काठमाडौं – छोरीलाई बोकेर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि शान्तकुमार (नाम परिवर्तन)ले पीरको पोको बिसाउनुभयो । 

सिरियाबाट फर्किएकी छोरी लिन सिन्धुपाल्चोकबाट शुक्रबार त्रिभुवन विमानस्थल पुगेका शान्तकुमारसँग विगतको पछुतो मात्रै छ । गरिबीले छोरी विदेश पठाउनु पर्दाको पछुतो । 

‘छोरी दलालकै कुरा सुनेर विदेश जाने भनिन्, त्यो बेलामा नजाउ भन्न सकिनँ, ४५ हजार रुपैयाँ त मैले नै ऋण खोजिदिएको हुँ,’ शान्तकुमारले सम्झनुभयो । 

शान्तकुमारकी जेठी छोरी हुन्, मनमाया (नाम परिवर्तन) । घरमा आन्दानीको स्रोत केही थिएन । तीन भाइ र दुई बहिनीलाई पढाउनुपर्छ, बढाउनुपर्छ भन्ने मनमायाको सोंचमा मलजल गरे पल्लो गाउँका चिनजानकै दलालले । 

छोरीले कुरामा सन्तकुमार पनि सहमत हुनुभयो । त्योबेला उहाँले छोरीलाई विदेश जान दिनुको कारण एउटै थियो, दलालले घरेलु काममा लेबनान पठाउने भनेका थिए । 

विदेश पुगेको केही दिनसम्म त छोरीको खबर थाहा भैरहन्थ्यो । त्यसपछि छोरीको सञ्चोबिसञ्चोको खबर पनि आउन छाड्यो । अनि शान्तकुमारको काँधमा कमाउन गएकी छोरी खोज्ने जिम्मेवारी थपियो । 

लेबनानको लोभ देखाएर सिरिया

२०७१ जेठमा मनमाया दलालले भनेजस्तै घरेलु काम गर्ने सपना बोकेर लेवनान उड्नुभयो । लेवनान त पुग्नुभयो, तर एक हप्ताभन्दा त्यहाँ बस्न पाउनुभएन । लेवनानको एक हप्ते बसाईपछि मनमाया सिरिया पुग्नुभयो । ‘कसरी पुगेँ भन्ने केही थाहा छैन, त्यहाँ एउटा घरमा सबै काम गर्न पथ्र्यो,’ मनमाया सुनाउनुहुन्छ । घर बाहिर कस्तो थियो मनमायाले देख्नुभएन ।‘घरको काम बिहानदेखि राती साहु नसुत्दासम्म गर्नु पथ्र्यो, बाहिरबाट के के पड्किएको आवाज त सुनिन्थ्यो,’ मनमाया सम्झनुहुन्छ, ‘साहुले कतै ननिस्कनु, घर नजिकै एअरपोर्टमा युद्ध भयो, बम पड्कियो भनेका थिए ।’ 

बाहिर पड्किएको बमको आवाजले मनमयालाई घर सम्झाइरहन्थ्यो । घर छाडेर एकैपटक युद्धभूमिमा के मन मान्थ्यो र । मनमायाले साहुलाई घर फर्काइदिन अनुरोध गर्नुभयो । 

तर साथमा न पासपोर्ट, न त घरको नम्बर नै थियो । ‘पासपोर्ट र नम्बर त कहाँ हरायो पत्तै भएन, पासपोर्ट नभएपछि कसरी घर आउनु,’ मनमाया भन्नुहुन्छ । घरभित्र छिरेदेखि उहाँको सिरिया कस्तो थियो भनेर देख्न पाउनुभएन । 

‘एकदिन साहुले गाडीमा राखेर बाहिर ल्याए, कहाँ लगे भन्ने कुरा पनि थाहा थिएन, एकैपटक काठमाडौं पो आइपुगिएछ,’ अचम्म मान्दै मनमाया सुनाउनुहुन्छ, ‘यहाँ झरेपछि पो थाहा पाएँ , नेपाल रहेछ भनेर ।’ 

यसरी भयो उद्धार

मनमायाले विदेश पुगेपछि चार, पाँच पटक फोन गर्नुभयो । तर त्यसपछि घरमा कुनै खबर आएन । छोरीको खबर नआएपछि सिन्धुपाल्चोकमा बुवा शान्तकुमारको बेचैनी बढ्यो । ‘प्रत्येक दिन वडा कार्यलय पुगें छोरी हराइ भनेर तर कसैले सुनेनन्,’ शान्तकुमार गुनासो गर्नुहुन्छ । 

छोरीको खोजीमा चार वर्ष भौंतारिएपछि उहाँ तीन महिनाअघि काठमाडौं बानेश्वरमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेश्नल रिलेसन्स (सीएमआइआर)को कार्यालय पुग्नुभयो । शान्तकुमारसँग मनमायाको नागरिकता, पासपोर्ट र विदेश पुगेपछि फोन गरेको नम्बर थियो । 

वैधानिक रुपमै २०७१ सालमा रोजगारीका लागि लेबनान गएको टुङ्गो भयो । मनमायाले फोन गरेको नम्बर दुईवटा लेबनानको र तीनवटा सिरियाको थियो ।

सीएमआइआरको निरन्तर प्रयासमा १५ दिनपछि सिरियाको नम्बरमा फोन उठ्यो । फोन उठाउने व्यक्ति सिरियामा महिलालाई घरेलु काममा पठाउने काम गर्ने कर्मचारी थिए । तिनै कर्मचारीले मनमायलाई नेपाल फर्काउन सहयोग त गर्ने भए, तर साथमा पासपोर्ट नभएकाले समस्या भयो । इजिप्टमा रहेको नेपाली दूतावासले मनमायालाई यात्रा अनुमती पत्र बनाएर सिरिया पठाउन सहयोग गर्‍यो । ट्राभल डकुमेन्ट उपलब्ध भएपछि मनमाया गएको शुक्रबार नेपाल फर्किनुभयो । 

झण्डै पाँच वर्ष विदेशमा बसेकी मनमायासँग साहुले हिँड्ने बेलामा दिएको १७ सय सिरियाली पाउण्ड (नेपाली करिब तीनसय ५० रुपैयाँ), प्लाष्टिकको थैलीमा झुण्ड्याएर ल्याएको ट्राभल डकुमेण्ट, बोर्डिङ पास, संघर्षको पाँच वर्ष र परिवारसँगको विछोडका वेदना बाहेक अरु केही छैन ।नेपाली महिलाहरु विभिन्न देशको बाटो हँुदै नेपाल सरकारले रोक लगाएको देशहरु जस्तै इराक, सिरिया तथा विभिन्न युद्धग्रस्त देशहरुमा पुगेको घटना यो नौलो हैन । अहिले नेपाल सरकारले विदेशमा घरेलु कामदारका रुपमा जान रोक लगाएको छ । तर भारतको बाटो हुँदै विभिन्न देशमा घरेलु कामरको रुपमा जाने क्रम भने रोकिएको छैन ।केही महिनाअघि मात्र भारत हुँदै विभिन्न देशमा पठाउनको लागि दिल्ली पुर्‍याइएका ५० भन्दा धेरै नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगले नेपाल फर्काएको थियो ।

TO SUBSCRIBE

 4

     1500+

       25+

       15+

         30

Years

Legally

Supported

IEC

Materials 

Articles

Published

Scholarships

Given