गएको शुक्रबार बिहानै आप्रवासी कामदार सञ्जालको फेसबुक ग्रुपमा कतारमा रहेका एकजना साथीले सूचना पोष्ट गर्नुभयो । 

लेखिएको थियो, ‘इराकमा ३ वर्ष अगाडि घरेलु कामदारका रुपमा गएकी भोजपुर गोगने ७ की शान्ता राईलाई मालिकले चरम शारीरिक, मानसिक यातना र पाउनु पर्ने तलब पनि नदिई निकालेको रहेछ । अचेत अवस्थामा अस्पताल भर्ना भएर २० दिन उपचार गराउनु भएको रहेछ । दुवै खुट्टा भाँचिएको र मेरुदण्डमा चोट लागेको अवस्थामा नेपाल जाने क्रममा हामीले शान्तालाई कतारको दोहा एयरपोर्टमा भेट्याैं । र कतार एयरवेजमा कार्यरत साथीहरुले केही रकम सहयोग गरी उहाँ डिसेम्बर २२ मा त्तच् टछद्द नम्बरको उडानबाट दोहाबाट बिहान १०ः३० बजे काठमाडौं आउँदै हुनुहुन्छ । उहाँको आर्थिक अवस्था अत्यन्तै नाजुक, हिँडडुल गर्न नसक्ने र पारिवारका सदस्यसँग सम्पर्कका लागि कुनै माध्यम नभएकाले यो सन्देश सक्दो सेयर गरी उहाँका परिवार वा आफन्तसम्म पुर्‍याइदिन अनुरोध गर्दछौं । नोट : आफन्तसँग सम्पर्क हुन नसकेकाले उहाँलाई नेपालको एयरपोर्टमा रिसिभ गर्न सहयोग गरिदिनुहोला ।’

बिहानको १०ः२० बजेको थियो । तुरुन्तै सुचना पोष्ट गर्ने साथीसँग सूचनाको आधिकारिकता पुष्टि गरें । सूचनाको आधारमा भोजपुर जिल्ला सम्मन्वय समितिमा फोन गरेर गोगनेको बारेमा जानकारी मागें । साविकको गोगने गाविस, हाल गोगने गाउँपालिका वडा नम्बर ८ भएको रहेछ । 

सबैको सहयोगले आफन्त सजिलैसित भेटियो 

जिससका अधिकारीले गाउँपालिकका प्रमुखको नम्बर उपलब्ध गराए । तत्काल प्रमुखलाई फोन गरेर अवस्थाबारे जानकारी गराएँ । उनले वडा अध्यक्षको फोन नम्बर दिएर आफूले पनि परिवारको खोजी गर्न लगाउने वचन दिए । 

गाउँपालिका प्रमुखले दिएको जानकारीका आधारमा वडाध्यक्षलाई फोन गरेर सक्दो चाँडो परिवारका सदस्य खोजिदिन आग्रह गरें । त्यस वडामा ५/७ घर मात्र राई जातिको बसोबास रहेछ । वडाध्यक्षले तुरुन्तै परिवारलाई सम्फर्कमा ल्याउन प्रयास गर्ने र पीडितको बुवाका बारेमा जानकारी पाए खोजी गर्न अझै सजिलो हुने जानकारी दिए । 

त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगें । कतार एयरवेजको विमान आगमनको सुपरभिजन गरेका अधिकारीसँग सम्पर्क गरी शान्ताको अवस्था र रिसिभ गर्न सहयोग गरिदिन अनुरोध गरें । 

बिहान ११ः२० बजे ह्विल चियरमा बसेर आएकी शान्तालाई रिसिभ गरें । उनको साथमा इराकबाट ल्याएको ह्विल चियर र लगेज थियो । शान्तालाई आफ्नो परिचय दिएँ । र कतारबाट साथीहरुले पठाएको सूचनाको आधारमा रिसिभ गर्न आएको बताएँ । 

हातमा पिसाबको थैली र दुवै खुट्टा पट्टिले बेरिएको थियो । रनवेबाट आगमन कक्षसम्म विमानस्थलका कर्मचारीले ह्विल चियरमा ल्याइदिए । विमास्थलका कर्मचारी, आफन्त लिन आएकी एकजना बुढीआमाको सहायतामा शान्तालाई उनको ह्विल चियरमा सारियो । त्यसपछि प्रिपेड ट्याक्सी पार्किङमा लगेर घाममा राखें । 

शान्तालाई बुवाको नाम सोधेर वडाध्यक्षलाई जानकारी गराएँ । वडाध्यक्षले ५ मिनेटमै परिवार  सम्पर्कमा आएको जानकारी गराए । धरानमा रहेकी बहिनीकोमा बसेर बाँकी उपचार गर्ने भन्दै शान्ताले आफ्नो अवस्थाबारे अहिल्यै बुवाआमालाई जानकारी नगराउन आग्रह गरिन् । 

मैले वडाध्यक्षलाई धरानमा रहेकी शान्ताकी बहिनीको सम्फर्क नम्बर मागिदिन अनुरोध गरें । वडाध्यक्षले नम्बर उपलब्ध गराए । 

बहिनीलाई फोन गरेर तपाई्रकी दिदी अहिले त्रिभुवन विमानस्थल काठमाडौंमा मसँगै हुनुहुन्छ मात्र भनें । थप केही कुरा भन्ने आँट आएन । र फोन शान्तालाई नै दिएँ । शान्ताले आफू दुर्घटनामा परेर चोट लागेको र मोवाइल हराएकाले नेपाल सम्पर्क गर्न नपाएको बहिनीलाई बताइन् । थप उपचारका लागि धरानमा आउन चाहेको बताइन् । 

खर्च नहुँदा उपचारमा समस्या, सहयोग गर्न परिवारको आग्रह 

बहिनीले दिदीको कुरा नकार्ने कुरा भएन । त्यसपछि ह्विल चियरमा शान्तालाई धरान कसरी पढाउन सकिन्छ भन्ने विषयमा बहिनीसँग कुरा गरें । उनले विराटनगरसम्म हवाइजहाजमा र त्यहाँबाट धरान १ घण्टाको बाटो भएकाले त्यसै गरिदिन भनिन् ।

त्यसै अनुसार शान्तालाई ह्विल चियरमा राखेर विमानस्थलको आन्तरिक टर्मिनलतर्फ लागें । उनको लगेज बोक्न मलेसियाबाट फर्कंदै गरेको छोरो लिन आएकी एकजना आमाले सहयोग गर्नुभयो । 

आन्तरिक टर्मिनल पुगेपछि विराटनगरको टिकटको जोहो गर्न लागें । शान्ताको अवस्था देखेर कतारको एयरपोर्टमा ड्युटीमा रहेका नेपालीहरुले ३५ हजार रुपैयाँ जति सहयोग गरेका रहेछन् । शान्ता आफैंले विराटनगरसम्मको भाडा तिरिन् । 

बोर्डिङ गर्ने क्रममा कर्मचारीले शान्तालाई आफन्तबिना पठाउन नमिल्ने बताए । वास्तविक कुरा बताएपछि त्यसै उडानमा जाने कोही व्यक्तिलाई आफन्त बनाएर पठाउन ती कर्मचारी राजी भए । शान्तालाई विराटनगरमा बहिनी रञ्जनाले रिसिभ गरिन् । 

शान्ता अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी वाडको बेड नम्बर ४ मा थप उपचार गराइरहेकी छिन् । उनकी बहिनी रञ्जनाका अनुसार घाउ पाकेकाले थप समस्या परेको छ । दिदीको थप उपचारका लागि सहयोग गरिदिन ममताले अनुरोध गरिन् । शान्ताको दुई जना बहिनी इराकमै घरेलु कामदारका रुपमा कार्यरत छन् । भाइ साउदीमा छन् । 

यसरी भएको थियो दुघर्टना 

शान्ताका अनुसार श्रीमानसँग सम्बन्धविच्छेद भएपछि छोरीको लालनपालन र पठनपाठनको खर्च जुटाउन उनी विदेश हिँडेकी थिइन् । स्याङ्जाका धनबहादुर थापामागर र उनकी श्रीमती सशी घलेले ३ वर्ष अगाडि शान्तालाई विदेश पठाएका थिए । 

हुन त शान्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गएकी हुन् । तर उनी अवैधानिक रुपमा इराक पुगेकी थिइन् । सुरुमा उनी भिजिट भिसा लिएर युएई पुगिन् । र घरेलु कामदारका रुपमा युएईबाट इराक । कामदार असुरक्षित हुने भएकाले सरकारले रोजगारीका लागि इराक जान रोक्का गरेको छ । 

काम गरिरहेको घर मालिकसँग गरेको करार सकिएपछि शान्ताले घर परिवर्तन गर्ने सोच गरेकी थिइन् । अर्को घरमा काम गर्ने जानकारी गराएपछि मालिकले शारीरिक र मानसिक यातना दिन थालेको रहेछ । त्यसपछि भागेर रोजगारी लगाइदिने कार्यालयमा शान्ता पुगेकी थिइन् । 

रोजगारी लगाइदिने कार्यालयमा तीन दिन बसिन् । त्यसपछि याताना दिने मालिक आइपुगे । घर मालिकले तलब वढाइदिने र यातना नदिने भनेपछि उनी फेरि त्यही घरमा फर्किन् । 

तर मालिकको बाचा एक दिन पनि टिकेन । घर पुग्नेवित्तिकै मालिकले शान्ताको मोवाइल खोस्यो र हिर्काउन थाल्यो । त्यसपछि के भयो शान्तालाई अहिले पनि सम्झना छैन । 

१३ दिनपछि होस खुल्दा शान्ता अस्पतालको बेडमा थिइन् । हातखुट्टा भाँच्चिएको थियो । मेरुदण्डमा चोट लागेको थियो । दिसापिसाव समेत गर्न नसक्ने अवस्थामा थिइन् शान्ता । त्यही घटनापछि परिवारसँग शान्ताको सम्पर्क टुटेको थियो । 

अस्पताल भर्ना भएको १८ औं दिनमा तिनै मालिक आइपुगे । मालिकले आफूले गल्ती गरेको र उपचार गराएर घरमा फर्काउने भनेर एउटा कागजमा सही गर्न भने । विश्वास गरेर शान्ताले कागजमा सही गरिदिइन् । सही गरेको अर्को दिन शान्तालाई नेपाल फर्काउन घर मालिकले एयरपोर्ट पुर्‍याएको थियो । 

Published date :Dec 27, 2017

Published on : Ujyaalo Online

 

TO SUBSCRIBE

 4

     1500+

       25+

       15+

         30

Years

Legally

Supported

IEC

Materials 

Articles

Published

Scholarships

Given