जिल्लाका युवा वैदेशिक रोजगारीमा गएपछि यहाँका खेतबारी बाँझिन थालेका छन् ।

वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिट्यान्सबाट परिवारको जीविकोपार्जन हुन थालेकाले खेती गर्ने क्रम ह्वात्तै घटेपछि खेतबारी बाँझिन लागेका हुन् ।

सबैजसो गाविसमा सडक सञ्जालले छोएपछि बाहिरका खाद्यान्न गाउँमै पाउनाले अधिकांश खेतबारीमा अन्नपात लगाउन छोडिएको छ । यहाँको मुख्य खाद्यान्न धानको उत्पादन घटेको छ । यातायातको सुविधाले खाद्यान्न घरपायक सहजै पुग्न थालेपछि यो अवस्था आएको हो ।

‘घरै बसीबसी सबैलाई मिठै खानु छ, राम्रै लाउनु छ,’ दक्षिणी पावला गाविसका ६५ वर्षीय छत्रसिंह राईले भने, ‘काम गर्न सक्ने लाठेहरू कमाउन विदेश जाने, घरमा बस्ने केटाकेटी, बुढाबुढीले काम गर्न सकिँदैन, जग्गाजमिन बाँझिने भइहाल्यो नि ।’ सडक सञ्जालले नजोडिएसम्म वर्षदिन खान पुग्ने धान उत्पादन हुन्थ्यो । खेतबारीमा टन्नै बालीनाली फल्थे । उत्पादन भएका मकै, कोदो, धान, गहुँ, जौ, फापर लगायतका खाद्यान्न बालीहरू खान पुगेर बेचिने गरेको राईले बताए । रेमिट्यान्स भित्रिन थालेपछि चामल, दाल, तरकारी जस्ता दैनिक उपभोग्य खाद्य सामग्री किन्ने र जसोतसो उत्पादन भइरहेका मकै, कोदोसमेत बिक्री गर्ने चलन बढेको हो ।

गाउँमै चामल पाउन थालेपछि जिल्ला खाद्य संस्थानले वितरण गर्दै आएको चामलसमेत खपत हुन छाडेको छ । ३ वर्षअघि ढुवानी गरिएको ११ सय ५७ क्विन्टल चामलमध्ये ६ सय क्विन्टल अझै पनि मौज्दात रहेको संस्थान भोजपुर शाखाका प्रमुख भक्तबहादुर भण्डारीले बताए । ‘सदरमुकाममा आएर बोकेर लैजानुपर्ने झन्झट गर्नुभन्दा एक/दुई रुपैयाँ बढी खर्च गरेर घर नजिकैबाट लिन थालेका छन्,’ उनले भने ।

कान्तिपुर दैनिकबाट सभार गरिएकाे ।

के तपाइलाई वैदेशिक रोजगार सम्बन्धि केही समस्या परेको छ वा वैदेशिक रोजगारी सम्बन्धि जानकारी आवश्यक परेको छ । वैदेशिक रोजगार सम्बन्धि निःशुल्क जानकारीसमन्वय र समस्या समाधानका लागि हामीलाई सम्पर्क गर्नुहाेला । 

 

Contact us