खाडीमा कार्यरत झन्डै एक लाख महिला कामदार प्रभावित

चैत्र २८, २०७३- खाडीमा कार्यरत घरेलु कामदार (हाउसमेड)लाई पुन: सोही ठाँउ फर्किन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन प्रतिवन्ध लगाएको छ । यो निर्णयले विदामा आएका कामदार कार्यस्थल फर्किनबाट वञ्चित भएका छन् । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदार सम्बन्धी निर्देशिका कार्यन्वयन गर्न प्रतिवन्ध लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृतिमा रोक लगाएको हो । 
यो निर्णयले खाडीमा कार्यरत झन्डै एक लाख घरेलु कामदार प्रभावित बनेका छन् । भारतीय बाटो वा नेपालकै बिमानस्थलमा सेटिङ गरी खाडीमा उनीहरु पुगेका थिए । नेपाली दूतावासकाहरु अनुसार कुवेतमा २३ हजार, साउदी अरवमा ३५ हजार, ओमनमा ८ हजार, लेवनानमा ८ हजार, इराकमा २० हजार, युएईमा १५ हजार, बहराइनमा १० हजार र कतारमा ३ हजार हाउसमेड कार्यरत रहेको अनुमान छ । 
वैदेशिक रोजगार बिभागका महानिर्देशक विश्वराज पाण्डेले दूतावासको पत्र बोकेर आएका हाउसमेडको पनि श्रम स्वीकृति रोकिएको बताए । ‘खाडीमा घरेलु कामदार पठाउन रोकिएको छ,’ उनले भने,‘पुर्न श्रम स्वीकृतिमा जाने महिला कामदार पनि रोकिएको छ ।’ 
वैदेशिक रोजगार बिभागले श्रम स्वीकृति नलिई अवैधबाट गएका महिला कामदारहरु बिदामा आएको वेला वैध बनाउन पुन श्रमस्वीकृति दिने ब्यबस्था थियो । पुन: सोही देश जानुपरेमा दूतावासको सिफारीस खोज्दै आएको थियो । 
पुन: श्रमस्वीकृतिमा लिने प्रक्रियामा चलखेल गरी जाँदै नगएकाले पनि श्रम स्वीकृति लिने कार्य भएपछि बिभागले वन्द गरेको हो । 
सरकारको यो निर्णयविरुद्ध हाउसमेड महिलाहरुले आपत्ति जनाएका छन् । उनीहरुले सरकारलाई आफ्नो रोजगार खोसेर परिवार पाल्ने दायित्वबाट वञ्चित गरेको बताए । ‘घरेलु काममा आएका सबैले पीडित भएको छैन । सबै घर उस्तै हुदैन । जुन घरमा  राम्रो छ । त्यो घरमा काम गर्ने हो,’ ओमनमा १८ वर्षदेखि कार्यरत झापाका शारदा कार्कीले भनिन्,‘यो प्रतिवन्धले हामीमाथि ठुलो अन्याय भएको छ । हाम्रो खरीखाने ठाँउ खोसिएको छ ।’  

Source: www.ekantipur.com

 

के तपाइलाई वैदेशिक रोजगार सम्बन्धि केही समस्या परेको छ वा वैदेशिक रोजगारी सम्बन्धि जानकारी आवश्यक परेको छ । वैदेशिक रोजगार सम्बन्धि निःशुल्क जानकारीसमन्वय र समस्या समाधानका लागि हामीलाई सम्पर्क गर्नुहाेला । 

 

Contact us